• १९ वैशाख, बुधबार
  • , May 01, Wednesday

बालबालिकामा संक्रमण घटेन

  • २०७८ असार २२ मंगलबार
  • Yugbani

काठमाडौँ — पछिल्लो साता कोरोना संक्रमितको संख्या थोरै घट्दै गए पनि बालबालिकाको संक्रमण दर उस्तै देखिएको छ । संक्रमित हुने बालबालिका अन्य उमेर समूहभन्दा बढी छन् । जेठ १९–२५ र असार १४–२० को एक साताको तथ्यांक केलाउँदा कुल संक्रमित १८ वर्षमुनिका बालबालिका/किशोरकिशोरीमध्ये पनि ५ वर्षमुनिकाको संख्या बढिरहेको देखिन्छ ।

 

 

असार १४ मा १८ वर्षमुनिका कुल संक्रमितमध्ये ५ वर्षमुनिका १७.२४ प्रतिशत संक्रमित थिए । एक सातापछि अर्थात् असार २० मा भने १८ वर्षमुनिका कुल संक्रमितमध्ये ५ वर्षमुनिका १८.४२ प्रतिशतमा संक्रमण देखिएको थियो । जेठ २५ गते कुल संक्रमतिमध्ये ५ वर्षमुनिकाको संख्या ०.७९ प्रतिशत रहेको थियो । जबकि असार २० मा कुल संक्रमितमा ०.८७ प्रतिशत ५ वर्षमुनिका बालबालिका संक्रमित थिए । यो तथ्यांकले कुल संक्रमितको संख्या घट्दा पनि ५ वर्षमुनिका बालबालिकामा संक्रमण घट्न नसकेको देखाउँछ ।

 

 

जेठ २५ गते १८ वर्षमुनिका कुल संक्रमितमध्ये ५ वर्षमुनिकाको हिस्सा १३.९९ प्रतिशत थियो । असार २५ गते भने कुल १८ वर्षमुनिका संक्रमितमध्ये ५ वर्षमुनिका संक्रमित १८.४२ प्रतिशत देखिन्छ । जेठ २० गते भने यो संख्या १४.९३ प्रतिशत थियो । एक महिनापछि असार २० मा १८ वर्षमुनिका संक्रमितमध्ये ५ वर्षमुनिकाको प्रतिशत १८.४२ पुगेको छ ।

अन्य देशको तुलनामा नेपालमा कुल संक्रमितमध्ये बालबालिकामा संक्रमण उच्च देखिन्छ । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स एन्ड द चिल्ड्रेन्स हस्पिटल एसोसिएसनका अनुसार अमेरिकामा कुल संक्रमितमध्ये बालबालिका संक्रमणको दर १३ प्रतिशत थियो । पछिल्लो एक महिनाको तथ्यांक केलाउँदा कुल संक्रमितमध्ये १८ वर्षमुनिका औसत १५ प्रतिशतमा संक्रमण देखिन्छ ।

२६२२ संक्रमित, २३ को मृत्यु

 

 

पछिल्लो २४ घण्टामा ११ हजार ५ सय २७ जनाको परीक्षण गर्दा २ हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २३ जनाको मृत्यु र २ हजार २ सय ११ जना निको भएका छन् । हाल सक्रिय संक्रमित २५ हजार ६ सय ९० अर्थात् ३.९७ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

छुटाउनुभयो कि?

सबै