• २३ वैशाख, आइतबार
  • , May 05, Sunday

निर्वाचन आचार संहिता पालना नगर्नेलाई कारबाही गर्ने आयोगको चेतावनी

  • २०७८ जेठ ०५ बुधबार
  • Yugbani

काठमाडौँ : बागमती प्रदेश अन्तर्गत रिक्त पदमा भोलि उपनिर्वाचन हुँदै छ । यहाँ नेकपा एमालेको तर्फबाट गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा र कांग्रेस माओवादी र एमाले (माधवकुमार नेपाल) समूहको गठबन्धनको तर्फबाट खिमलाल देवकोटा चुनावी मैदानमा छन् । नेपाल मजदुर किसान पार्टी कृष्ण तामाङ पनि उमेदवार छन् ।

निर्वाचनको लागि आयोगले मौन अवधि सुरु भइसकेको जनाएको छ । तर, पनि नेताहरु नै आफ्ना उमेदवारलाई मत माग्न व्यस्त छन् । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै आचार संहिता उल्लंघन गरेर थापालाई भोट मागिरहेका छन् । त्यसो त उमेदवार थापा नै हिजो एमाले वरिष्ठ नेता माधवकुमार नेपाल कहाँ भोट माग्न पुगेका थिए । 

आचार संहिता पालना नगरेपछि निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको छ । ‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरुले आचार संहिता विपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चार माध्यमहरुले उम्मेदवारको जीत हारको पूर्वानुमानका सामग्रीहरु प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरुको अन्तरवार्ता लिने जस्ता गतिविधिहरु गरेको देखिएकोले यसतर्फ आयोगको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जारी विज्ञप्तिमा भनिएको छ, ‘ निर्वाचनको सिलसिलामा राजनीतिक दल, सार्वजनिक निकाय तथा सञ्चार माध्यमलगायतले पालना गर्नुपर्ने आचार संहिता समेत लागू भइसकेको सन्दर्भमा आचार संहिता विपरितका यस्ता क्रियाकलापले निर्वाचनको स्वच्छता र विश्वसनीयता प्रति नै आघात पार्ने कुरा स्पष्ट नै छ ।’ 

आयोगले निर्वाचन आचार संहिता विपरीतका गतिविधि स्वीकार्य नहुने पनि बताएको छ । ‘एकातर्फ आयोगले निर्वाचन आचार संहिता कडाइका साथ लागू गर्न नसक्ने भनी आलोचना पनि गर्ने र अर्कोतर्फ आफैँ आचार संहिता विपरीतका गतिविधिमा संलग्न हुनु कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुँदैन,’ उनले भने, ‘अतः निर्वाचन आचार संहिता विपरितका कार्य गर्ने व्यक्ति वा संस्थालाई आयाोगले कानुन बमोजिम कारबाही गर्न सक्ने कुरा प्रष्ट गर्दै यसरी आचार संहिता विपरीत कार्य गर्नेको अभिलेख राख्ने व्यहोरासमेत जानकारी गराइन्छ ।’   

छुटाउनुभयो कि?

सबै