• १६ वैशाख, आइतबार
  • , Apr 28, Sunday

आन्तरिक विवाद मिलाउन गठित एमाले कार्यदलको पहिलो बैठक बस्दै

  • २०७८ जेठ ०४ मंगलबार
  • Yugbani

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठक मंगलबार बस्ने भएको छ। कार्यदल गठन भएपश्चात मंगलबार दिउँसो सिंहदरबारमा पहिलो पटक बैठक बस्न लागेको हो।

सत्तारुढ नेकपा (एमाले) भित्र लामो समयदेखिको आन्तरिक विवाद समाधानको जिम्मेवारी १० नेताले पाएका छन्। तीन दिनको समयसिमा दिइएपनि नेताहरुको व्यस्थता, छलफल र प्रतिवेदन लेखनमा समय लाग्‍ने भएकोले केही समय लम्बिने भएको छ।

कार्यदलका संयोजक तथा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालसँग अनौपचारिक परामर्शमा गृहकार्य भइरहेको जानकारी दिएका छन्। अध्यक्ष ओली र नेता नेपालबीच मिलेर अघि बढ्ने सहमति भएपछि पार्टीको आन्तरिक विवाद समाधान गरी पार्टीलाई एकताबद्ध बनाउन गृहकार्य गर्न १० सदस्यीय कार्यदल गठन भएको हो। दुवै तर्फबाट पाँच–पाँच जना सदस्यहरु कार्यदलमा छन् । 

कार्यदलमा अध्यक्ष ओलीतर्फबाट नेम्वाङको संयोजकत्वमा नेताहरु विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन्। त्यस्तै नेता नेपालको तर्फबाट संयोजक भीमबहादुर रावलसहित नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य रहेका छन्।

एमालेको नेपाल पक्ष पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनु पर्ने अडानमा छ। ओली र नेपालबीच गत बिहीबार बूढानीलकण्ठमा भएको करिब चार घण्टा भएको वार्तामा पार्टीलाई २०७५ जेठ २ कै अवस्थाबाट अगाडि बढाउने सहमति भएको थियो। तर त्यसको मोडालिटीबारे दुई पक्षबीच कुरा मिल्‍न बाँकी छ। 

छुटाउनुभयो कि?

सबै