• ०८ जेठ, मंगलबार
  • , May 21, Tuesday

'पोस्ट कोभिड' को परामर्श लिने बढे

  • २०७८ असार १८ शुक्रबार
  • Yugbani

काठमाडौं : कोरोना भाइरस संक्रमण भए पनि उपचारपछि निको भएका व्यक्तिमा पोस्ट कोभिड समस्या देखिएको छ। यस्ता समस्या भएका १ सयभन्दा बढी बिरामी काठमाडौं उपत्यकाका विभिन्न स्वास्थ्य संस्थामा दैनिक आउन थालेका छन्।

 

निषेधाज्ञा खुकुलो भएसँगै उपचार एवं परामर्शका लागि पोस्ट कोभिडका लक्षण भएका बिरामीको संख्या बढेको हो। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलगायत स्वास्थ्य संस्थामा यस्ता बिरामी उपचार गर्न जाने क्रम बढेको छ। 

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. नीरज बम आइतबार दिउँसोको बहिरंग विभागलाई पोस्ट कोभिड ओपीडी नामकरण गरी उपचार सुरु गरिएको बताउँछन्। त्यस्तै मंगलबार र बिहीबार बिहान पनि पोस्ट कोभिड लक्षण भएका बिरामीको उपचार गरिरहेको डा. बम सुनाउँछन्। उक्त अस्पतालमा दैनिक औसतमा ५०–६० जना बिरामी आउन थालेका छन्। 

डा. बमका अनुसार श्वास–प्रश्वासदेखि मनोवैज्ञानिक त्रास लिएका बिरामी फ्लोअपमा आइरहेका छन्। ‘मुख्य गरी श्वास–प्रश्वास र मनोवैज्ञानिक समस्या भएका बिरामी उपचार गर्न र सरसल्लाह लिन आइरहनुभएको छ’, डा. बम भन्छन्। खोकी लाग्ने, निद्रा नलाग्ने, श्वास फेर्न गाह्रो हुने, भोक नलाग्ने, मुटु ढुकढुक हुने, कमजोरी एवं थकान महसुस हुनेलगायत लक्षण बताउने गरेको उनको भनाइ छ। 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सूचना अधिकारी नवराज गौतम पोस्ट कोभिडका बिरामीको संख्या बढिरहेको बताउँछन्। ‘दुई–तीन जना त भर्ना भई उपचाररत हुनुहुन्छ’, सूचना अधिकारी गौतम भन्छन्, ‘बिसेक भएर घर गइसकेका व्यक्तिहरू पोस्ट कोभिड भएपछि आउने क्रम बढेको छ।’

अस्पतालको मानसिक विभागमा पनि पोस्ट कोभिडका बिरामी उपचारका लागि आउने क्रम बढेको छ। विभागिय प्रमुख प्रा.डा. सरोजप्रसाद ओझाका अनुसार  उपचार गर्न आउनेमध्ये अधिकांशले मुटुको धड्कन बढ्ने, छटपटी महसुस हुने र निद्रा नलाग्ने समस्या भएको बताउने गरेका छन्। ‘पहिला सामान्य ढंगले जनजीवन बिताइरहेका व्यक्तिमा पनि मन डराउने (एन्जाइटी), निद्रा नलाग्ने र मन उदास (दिक्क) हुने (डिप्रेसन)को समस्या भएको बढी पाएको छु’, डा.ओझा भन्छन्। विभागमा दैनिक ३५–४० जनासम्म पोस्ट कोभिडका  बिरामी आउने गरेको प्रा. डा. ओझा सुनाउँछन्। कमजोर मन भएका व्यक्तिमा पोस्ट कोभिडका लक्षणहरू देखिएको चिकित्सक बताउँछन्।

स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखाका वरिष्ठ कन्सल्टेन्ट डा. प्रकाश बुढाथोकी पोस्ट कोभिडका अधिकांश व्यक्तिमा मनोवैज्ञानिक समस्या देखिएको बताउँछन्। ‘अस्पताल भर्ना भएर उपचारपछि निको भएका व्यक्तिमा पोस्ट कोभिडको समस्या भएको पाइएको छ’, डा. बुढाथोकी भन्छन्, ‘निमोनियासमेत भएका व्यक्तिलाई श्वास–प्रश्वासमा समस्या देखिएको छ।’

पोस्ट कोभिडका बिरामीले स्वस्थ जीवनशैली अपनाउन र शारीरिक व्यायाम, योगाभ्यास, सन्तुलित खाना खानुपर्ने सुझाव डा. ओझाको छ। सामाजिक सञ्जालमा देखिने नकारात्मक विषयमा ध्यान नदिने र आफूलाई व्यस्त राख्नुपर्ने चिकित्सकहरूको सुझाव छ। डा. ओझा भन्छन्, ‘पोस्ट कोभिड सामान्य समस्या हो। कुनै जटिल रोग होइन। स्वस्थ जीवनशैली अपनाए ठीक हुन्छ। धेरै गाह्रो भए मनोविद् वा मनोचिकित्सकसँग परामर्श गर्दा पनि फाइदा हुन्छ।’ 

पोष्ट कोभिडको लक्षण १२ सातासम्म केही व्यक्तिमा कोरोना भाइरस संक्रमणमुक्त भइसकेपछि पनि शरीरमा विभिन्न लक्षण लामो समयसम्म रहिरहन्छन्। यस खालका पोस्ट कोभिड लक्षण १२ सातासम्म पनि देखिने गरेको डा. पौडेल बताउँछन्। भन्छन्, ‘कोरोना निको भइसकेपछि पनि स्वास्थ्यको उत्तिकै ख्याल गर्नुपर्छ। जनस्वास्थ्यका सबै मापदण्डको उत्तिकै पालना गर्नुपर्छ।’

मुलुकभर हालसम्म कोरोना संक्रमण भई ६ लाख १ सय १ सय ४९ जना  निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। निको भएकामध्ये कति जनालाई पोस्ट कोभिडको लक्षण देखिएको सम्बन्धमा यकिन तथ्यांक नभएको मन्त्रालयले जनाएको छ। पछिल्लो चौबिस घण्टामा ४ हजार १७ जना निको भएका छन्।

छुटाउनुभयो कि?

सबै