• ०८ जेठ, मंगलबार
  • , May 21, Tuesday

निधि, कोइराला र सिंहको केन्द्रीय सदस्यसँग छलफल गर्ने कार्यक्रम स्थगित

  • २०७८ असार १८ शुक्रबार
  • Yugbani

काठमाडौं : १३ औं महाधिवेशनका सभापतिको प्रत्यासी बाहेकका नेताहरूसँग छलफल गर्ने नेपाली कांग्रेस १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासी तीन नेताको पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको छ। कार्यव्यस्तताको कारण देखाउँदै विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंहले शुक्रबार केन्द्रीय सदस्यसँग राखेको भेटघाट कार्यक्रम स्थगित भएको हो।

 

निर्धारित मितिभित्र महाधिवेशन सम्पन गराउनुको विकल्प नभएकाले महाधिवेशनको वातावरण बनाउँदै आवश्यकता अनुसार भेटघाट र छलफलका क्रमहरुलाई निरन्तरता दिंदै जाने सिंहको भनाई छ।‘क्रियाशील सदस्यता सम्बन्धी समस्याको तत्कालै विधि प्रक्रिया भित्र रहेर समाधान खोज्दै महाधिवेशन केन्द्रित हुने र आज असार १८ गते शुक्रबार पार्टीको १३ औं महाधिवेशनका सभापतिको प्रत्यासीबाहेकका नेताहरूसँग छलफल गर्ने समय तय गरेको थियो।’नेता सिंहले भने,‘क्रियाशीलको विषय नटुंगिएको र आज नै क्रियाशील सदस्यता छानबिन समिति, पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्नु पर्ने भएकाले आजका लागि हामी तीन जनाले तय गरेको केन्द्रीय सदस्यहरूसँगको अनौपचारिक छलफल कार्यव्यस्तताका कारण स्थगित भएको जानकारी गराउँदछु।’

तीन नेताको भेटघाटले आम कांग्रेसजनमा उत्साह र नवीन तरंग उत्पन्न गरेको सबैले महसुस गरिरहेको सिंहले बताएका छन्। उनले भने,‘प्रतिकूल राष्ट्रिय परिस्थितिका बेलामा कांग्रेसजन र नागरिकमा तीन नेता मिलेर कांग्रेस महाधिवेशनमा नेतृत्व लिने सन्दर्भमा भएको छलफलले सिंगो मुलुककै ध्यानाकर्षण गराएको त छ नै, पछिल्लोपटक चाक्सीबारीमा भएको छलफलले कांग्रेस महाधिवेशन र समग्र मुलुकको समस्याबारे महत्वका साथ विषय उजागर गरेको छ।’

कांग्रेसको आगामी १४ औं महाधिवेशनको मुखमा उपसभापति निधि, महामन्त्री डा. कोइराला र पूर्वमहामन्त्री सिंहको साझा सक्रियतालाई महत्वका साथ हेरिएको छ। उनीहरूबीच तीन चरणको छलफल भइसकेको छ। निधि निवासबाट सुरु भएको भलाकुसारीको सिलसिला कोइराला निवास महाराजगंज हुँदै चाक्सीबारीसम्म निरन्तर छ।  विरासत बोकेका यी तीन पुत्रहरूको सक्रियताले कांग्रेसको आन्तरिक जीवनलाई तरंगित गरेको छ। उनीहरूबीचको शृखंलावद्ध जमघटले वरिष्ठ नेता रामचन्द्र पौडेललाई चस्का दिएको छ भने सभापति शेरबहादुर देउवाका लागि पनि यो गठबन्धन चुनौती बन्‍न पुगेको छ। 

पछिल्लो पटक ठमेलको चाक्सीबारीस्थित सिंह निवासमा उनीहरुबीच भएको भेटवार्ता पछि १३ औं महाधिवेशनका सभापतिको प्रत्यासी बाहेकका नेताहरूसँग आज छलफल गर्ने घोषणा गरेका थिए। 
निधि, कोइराला र सिंहले कांग्रेसका तीन खम्बाको विरासतलाई क्यास गरेर  चुनावी माहोललाई आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेका छन्। कांग्रेसका संस्थापक वीपी कोइराला, महेन्द्रनारायण निधि र गणेशमान सिंहका पुत्र तीनै जनाले सभापति आकांक्षा राखेका छन्। तर तीनैजना सभापतिका आकांक्षी हुन्। उनीहरूको पृष्ठभूमि, प्रभाव र रणनीति अलगअलग भएकोले मिलेर अघि बढ्ने सम्भावना कमजोर देखिन्छ। 

छुटाउनुभयो कि?

सबै