• ०५ जेठ, शनिबार
  • , May 18, Saturday

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४९ सांसद सर्वोच्च जाने तयारीमा

  • २०७८ जेठ ०९ आइतबार
  • Yugbani

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरूद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादीको डा.बाबुराम भट्टराई-उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा सांसदहरूले सर्वीच्चमा रिट दायर गर्दैछन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४९ सांसदहरू हस्ताक्षरसहित सर्वोच्च जाने तयारी भइरहेको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् । 'प्रतिनिधि सभा विघटनविरुद्ध आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४९ सांसद सर्वोच्च अदालत जाने तयारीमा छौ,' भुसालले इकागजसँग भनिन्, 'अहिले आवश्यक कागजात तयार पार्ने काम भइरहेको छ ।'

 

 

सांसदहरूलाई आफ्नो नागरिकता र सम्भव भएसम्म निर्वाचन आयोगले दिएको प्रमाणपत्रसमेत लिएर आउन भनिएको एक सांसदले बताए । 

सांसद्हरूसहित प्रधानमन्त्रीमा प्रस्तावित देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल, जसपाका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलसहित सांसदहरू सर्वोच्च जाने भुसालले जानकारी दिइन । 

शनिबार बसेको यी दलको बैठकले प्रतिनिधि सभा विघटनविरूद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको थियो  ।

वैकल्पिक सरकार बन्‍ने अवस्था हुँदाहुँदै शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटनको निर्णय गरेको भन्दै दलहरूले विरोध गरिरहेका छन् । देउवाले १४९ जना सांसदको हस्ताक्षरसहित वैकल्पिक सरकारको दाबी गरेका थिए।

छुटाउनुभयो कि?

सबै