• १७ मंसिर, शुक्रबार
  • , Dec 03, Friday

एरिक्सन ढलेपछि ‘अस्वभाविक’ दौडिरहेको डेनमार्क

  • २०७८ असार २१ सोमबार
  • Yugbani

समूहगत चरणमा तीन खेल अनि सुरुका दुई खेलमा पराजय। चार टोलीमध्ये समूह विजेता र उपविजेता अगाडि बढ्ने।  यस्तो नतिजामा तेस्रो खेलमा जित हात पारेपनि अगाढि बढ्ने सम्भावना न्युन हुन्छ। तर डेनमार्क जारी युरोकपमा यसरी नै अगाडि बढ्यो र दोस्रो चरण पुग्यो।

 

पहिलो खेलमा फिनल्यान्डसँग १-० र दोस्रो खेलमा बेल्जियमसँग २-१ गोलले पराजित भएपछि डेनिस टोलीको अगाडि बढ्ने सम्भावना कम थियो। तर समूह ‘बी’को समिकरण नै थियो त्यस्तै।

दुई खेलपछि बेल्जियमको ६ तथा रुस र फिनल्यान्डको ३/३ अंक थियो। डेनमार्कले अंक जोड्न सकेको थिएन। तेस्रो खेलमा बेल्जियमले फिनल्यान्डलाई २-० र डेनमार्कले रुसलाई ४-१ गोलले हरायो।

फिनल्यान्ड र रुससँग समान अंक भएपनि गोलअन्तरमा डेनमार्क समूहको दोस्रो स्थानमा रहेर प्रिक्वाटरफाइनल पुग्यो। रुसमाथी फराकिलो गोलअन्तरको जितले डेनमार्कलाई अगाडि बढ्न सजिलो भयो।

तर यो यात्रा अनपेक्षित थियो जब पहिलो खेलमा टोलीका स्ट्राइकर क्रिस्टियन एरिक्सन खेल्दाखेल्दै ढले। उनलाई मैदानमै अक्सिजन सपोर्ट दिएर अस्पताल लैजानु पर्‍यो। त्यसअघि मैदानको अवस्था भावुक थियो।

खेलाडीहरु रोइरहेका थिए, प्रार्थना गरिरहेका थिए। अस्पताल पुर्‍याएपछि समाचार आयो- एरिक्सन होसमा आए। बाँकी समयको खेल फेरी सुरु भयो। यो खेल डेनमार्कले पछि गोल ब्यहोरेर हार्‍यो तर उसको खेल भावनाको चौतर्फ प्रशंसा भयो।

त्यसको भोलीपल्ट नै एरिक्सले धन्यवाद सन्देश पठाउँदै जिवन बचाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिए। एरिक्सनलाई हृदयघात भएको थियो र समयमा उनको प्राथमिक उपचार नभएको भए ज्यान जान पनि सक्थ्यो। एरिक्सन तत्काल खेलमा फर्कन सक्ने अवस्था थिएन। र उनले भने, टिमलाई सँधैभरी मेरो साथ रहने छ।

एरिक्सनलाई हृदयघात भएको थियो- चिकित्सक

एरिक्सनलाई मैदानबाट अक्सिजन दिएर निकालिँदै। उनि अहिले ठिक भइसकेका छन्। फाइल तस्विर

एरिक्सनको अनुपस्थिती टोलीका लागि महँगो हुने अनुमान थियो। किनभने डेनमार्कको वर्तमान राष्ट्रिय टोलीका उनी दोस्रो सर्वाधिक अनुभवी खेलाडी थिए। त्यसैगरि सबैभन्दा बढी गोल गरेका खेलाडी पनि। एरिक्सनले डेनमार्कका लागि एक सय ९ खेल खेलेका छन् र ३६ गोल गरेका छन्। टोलीमा रहेका खेलाडीमा उनी डेनमार्कका लागि कम्तिमा सय खेल खेल्ने केवल दोस्रो खेलाडि हुन्।

उनीबाहेक कप्तान सिमोन कियार हुन् जसले एक सय १२ खेल खेलेका थिए (अहिले एक सय १६ पुगेको छ)। एरिक्सन इन्टर मिलानका लागि खेल्दै आएका छन्। डेनमार्कको टोलीमा दोस्रो सर्वाधिक गोल  १० रहेको थियो। त्यसैले एरिक्सन टोलीका लागि महत्वपूर्ण थिए। २९ वर्षीय एरिक्सन डेनिस फुटबलमा नयाँ पुस्ताका आदर्श हुन्।

डेनमार्क त्यही टोली थियो जसले सन् २०१८ को विश्वकपमा त्यतिबेला फाइनल पुगेका फ्रान्स र क्रोएसियालाई अत्याएको थियो। समूहगत चरणमा डेनमार्कले फ्रान्ससँग गोलरहित बराबरी खेलेको थियो भने प्रिक्वाटरफाइनलमा क्रोएसियासँग टाइब्रेकरमा पुगेर पराजित भएका थियो। यही प्रतियोगितामार्फत डेनमार्कले आफुलाई कमजोर नआँक्न सन्देश दिएको थियो। त्यसअघि डेनमार्क सन् २०१४ को विश्वकप र २०१६ को युरोकपमा छनोटसमेत हुन सकेको थिएन।

बेल्जियमसँग १ गोलअन्तरले मात्र पराजित भएपछि र अर्को खेलमा रुसले फिनल्यान्डलाई हराएपछि डेनिस टोलीको अगाडि बढ्ने सम्भावना कायमै थियो। बेल्जियमविरुद्ध डेनमार्कका २७ वर्षीय युसुफ पल्सेनले गोल गरेका थिए।

रुसविरुद्ध पल्सेनसहित अन्य तीन खेलाडीले पनि गोल गरेका थिए। प्रिक्वाटरफाइनलमा डेनमार्कले गत संस्करणमा सेमिफाइनलसम्म पुगेको वेल्सविरुद्ध शानदार प्रदर्शन गर्‍यो। कास्पर डोलबर्गले दुई तथा जोआकिम माइल र मार्टिन ब्राथवैटले एक एक गोल गरेका थिए। शनिबार चेक गणतन्त्रलाई २-१ गोलले हराएर डेनमार्क २९ वर्षपछि युरो कपको सेमिफाइनलमा पुगेको छ।

चेक गणतन्त्रविरुद्ध डोलबर्ग र थोमस डिलानीले एक एक गोल गरे। दुवै गोल पहिलो हाफमा भएको थियो। २३ वर्षीय डोलबर्ग उत्कृष्ट लयमा देखिन्छन्। उनले राष्ट्रिय टोलीका लागि २९ खेलमा १० गोल गरेका छन्। उनी फ्रेन्च क्लब निसका लागि खेलिरहेका छन्। डेनमार्कले सन् १९९२ मा युरो कप जितेको थियो र त्यसयता पहिलोपटक सेमिफाइनल पुगेको छ। अब फाइनल पुग्न इङ्ल्यान्डलाई हराउनुपर्ने छ। डेनमार्कका प्रशिक्षक क्यास्पर हुलम्यान्डले एरिक्सन सँधै आफ्नो साथमा रहेको बताएका छन्। उनीले सबै खेलाडीको मन मष्तिस्कमा एरिक्सन रहेको उल्लेख गरेका छन्।

छुटाउनुभयो कि?

सबै