• ०२ कात्तिक, मंगलबार
  • , Oct 19, Tuesday

रोपार पो आएछ.........!!!

  • २०७८ असार १२ शनिबार
  • Yugbani

असारे भाका घन्किन थाले
रोपाइँ पो आएछ
आ हाई रोपाइँ पो आएछ ।
मानो खाएर मुरी उब्जाउने
बेला पो भएछ
आ हाई बेला पो भएछ ।

 

रोपाइँ आएको र असारको महत्त्वबारे यो असारे गीतले राम्रैसँग वर्णन गरेको छ । हुन पनि हो, यतिखेर उच्च पहाडी क्षेत्र, मध्यपहाड, भित्री मधेस तथा तराईमा रोपाइँको रौनक छाएको छ । सानोछँदा हजुरबा हजुरआमाहरू भन्नुहुन्थ्यो– ‘असारको महिनामा असुरोको पात टिपेर फाले पनि जाग्छ । असार महिना जुनसुकै बिरुवा रोप्ने समय हो । चाहे त्यो अन्नबाली होस् वा फलपूmल । असार त मुठी रोपेर मुरी फलाउने समय हो । असारे रोपाइँका दिनमा मानिसको मृत्यु भए पनि शवलाई ढाकेर रोपाइँ गर्नु पर्छ भन्ने कथनसमेत प्रचलित छ । यो महिनामा त अल्छी गर्नै हँुदैन, गर्नेलाई त अनिकाल लाग्छ । असारको महिनामा त अल्छीलाई मात्र निद्रा लाग्छ भन्ने भनाइ पनि छ ।

रिम र झिम पानी है परे
स्याखुले ओतौँला,
आ हाई स्याखुले ओतौँंला ।
तीखे र चन्दे्र हल गोरु बाँधी
गहिरी खेत जोतौँला,
आ हाई गहिरी खेत जोतौँला ।

कसैले असारको महिमा वर्णन गर्नै पर्दैन । हाम्रा लोकजीवनमा भिजेर आएका यस्ता असारे भाकाले नै असारको महिमा गाइरहेको हुन्छ । यो बेला झरीको कुनै मतलव हुँदैन । दबदबे हिलो छुन कसैलाई घिन लाग्दैन । परिश्रम गर्न कोही पछि पर्दैन । त्यसमाथि आफ्नो मनको बह र मायापिरतीलाई पनि बाउसे र रोपाहारले हिलो सम्याउने तथा रोपाइँ गर्ने क्रममा छताछुल्ल पार्छन् । त्यसैले असार रोपाइँका लागि मात्र नआएर लोकजीवनको एउटा अभिन्न अङ्गको रूपमा पनि हरेक साल आउने गर्छ ।

असारे मासको दबदबे हिलो
छुनलाई घिन लाग्यो
आ हाई छुनलाई घिन लाग्यो ।
पातली नानीलाई फरिया किन्दा
छबिस रिन लाग्यो
आ हाई छबिस रिन लाग्यो ।

यसरी हाम्रा किसान दाजुभाइका यस्ता अनिगिन्ती बहहरू यही बेला पोखिन्छन् । त्यसैले असार रोपाइँका लागि मात्र नआएर मनका बह बिसाउने चौतारीको रूपमा पनि आउँछ । अरू त अरू श्रीमतीले समेत आफ्नो श्रीमान् अल्छी भएमा गीतबाटै सम्झाउँछिन् । रोपाइँको समयमा बहाना गरी आलस्य गर्नेलाई पनि गीतबाट नै छेड हानिन्छ ।

छप र छपी बीउमा गोडिम्
असारे रोपाइँलाई,
आ हाई असारे रोपाइँलाई ।
जहिलेमा आउँछु सुतेकै देख्छु
के भयो तपाईंलार्ई,
आ हाई के हुन्छ तपाईंलाई ?

माझी र दाइले माछी है छोप्यो
तारको बल्छीले,
आ हाई तारको बल्छीले
असारको महिना ढाड दुख्यो अरे
के भन्छ अल्छीले ?
आ हाई के भन्छ अल्छीले !!

कृषि उत्पादनका लागि हाम्रो देशमा महिलाको भूमिका ठूलो छ । विकसित देशमा जस्तो कृषि यन्त्रको विकास नभएकोले खेतको कामदेखि रोपाइँको तयारीका लागि घरभित्र गर्ने काममा महिलाहरू यो बेला झनै व्यस्त हुन्थे । खासगरी रोपाइँका लागि दुना, टपरी गाँस्ने काममा असार आउनु अघिदेखि नै महिलाहरू जुट्थे । दुना र टपरी मालाजस्तो बनाएर घरको बतासीमा सजाएको जस्तै गरी राख्थे । जुन धान रोप्ने समयमा खाजा (अर्नी) खुवाउन प्रयोग गरिन्थ्यो । अहिलेको जस्तो कागजका पिलेट भएको भए सायद उनीहरू रातमा आराम गर्न पाउँथे होला । जतिसुकै थकाइ लागे पनि रोपाइँका लागि गोरु, हली, कोदाले, खेतमा पानी र तयारी बीउ सबै जुटेको अवस्थामा उनीहरू यति खुसी देखिन्थे कि कामलाई उनीहरू मनोरञ्जनका रूपमा लिएर आनन्द लिन्थे । पर्म गर्ने चलनले त झन् दिदीबहिनीहरूको भेटघाट हुने, सुखदुःखका कुरा असारे गीतमा गाउँदै सुनाउने पनि गरिन्थ्यो । मनोरञ्जनका साधन केही थिएनन् । अहिलेका युवा दिदीबहिनीहरूलाई जस्तो फुर्सद र टिकटक बनाउन मिल्ने मोबाइलको सुविधा पनि थिएन । काममा नै जोस, जाँगर, उत्साह थियो । कसैले थकाइ मेट्न विश्राम लिएमा गीतमै सुनाइन्थ्यो । जुन रमाइलो र मार्मिक पनि हुन्थ्यो ।

धनीका छोरालाई
दिएँ भन्थेउ बाबा
चामलमा घुन लाग्यो
छोरीलाई सुख छ
भन्छौ बाबा
मेलैमा जून लाग्यो,
आ हाई मेलैमा जून लाग्यो
यस्ता रमाइला र उत्साहजनक संस्कार र रीतिरिवाज भएको कृषिप्रधान देश हो हाम्रो ।

धान र धान खेतको महत्त्व
कृषिप्रधान देश नेपालमा धेरै प्रकारका उपजहरू उत्पादन गरिन्छ । सबै उपजको आ–आफ्नै महत्त्व रहेको पाइन्छ । यी उपजहरू खाद्यवस्तुका रूपमा मात्रै नभएर अन्य प्रयोजनका हिसाबले पनि विशेष महŒव राख्छन् । धान, जौ, मास आदि जन्मदेखि मृत्युसम्मका संस्कारहरूमा नभई हुँदैन । कोदो, जौ, भटमास र फापरलाई पोषिलो र औषधिजन्य खानाको रूपमा हेरिन्छ । चामल मिठो र प्रतिष्ठित खानाको रूपमा दरिएको छ भने प्रत्येक संस्कार तथा चाडपर्वहरूमा धानचामलको प्रयोग अत्यधिक हुन्छ । चाहे त्यो दशैँको अक्षताको रूपमा होस् वा विवाह, ब्रतबन्ध, पास्नी, न्वारनमा पाक्ने परिकारहरू पुलाउ, खिर र सेलरोटी आदि पकाउँदा होस् । केही दशक अघिसम्म नेपाली समाजमा धान र धान खेतको विशेष किसिमको सामाजिक, र्आिर्थक र सांस्कृतिक महŒव थियो । धान खेत धेरै हुने किसान सम्पन्न परिवारको रूपमा चिनिन्थ्यो । त्यसमा प्रायःजसो समाजका अगुवा कहलिएका मुखिया, जिम्मावाल र जमिन्दारहरू हुने गर्थे । उनीहरूको समाजमा प्रतिष्ठा नै बढी हुने गथ्र्यो । यसले समुदायका क्रियाकलापहरूमा उनीहरूको हैकम पनि चल्थ्यो । धान खेत नहुने परिवारलाई सामाजमा हेयको दृष्टिले हेर्ने र गरिब मानिन्थ्यो । पहाडी क्षेत्रमा धेरै किसान परिवारको त धान खेत नै हुँदैनथ्यो । धेरै धान खेत धनीको हातमा हुन्थ्यो । उनीहरूका गैरीखेत र फाँटहरू हुन्थे । जहाँ सिँचाइको राम्रो सुविधा हुन्थ्यो । उत्पादन पनि राम्रो हुन्थ्यो । तर धनी परिवारका पुरुषले भने हिलो पनि छुँदैैनथे । सबै काम खेताला लगाएर गर्ने चलन थियो । समुदायका प्रत्येक घरधुरीबाट एक–एक दिन समाजका अगुवा कहलिएका मुखिया, जिम्मावाल र जमिन्दारको रोपाइँमा श्रमदान गर्न जाने प्रथा पनि थियो । धनी किसानको रोपाइँमा बेठी हालिन्थ्यो । रोपाइँमा बेठी हाल्दा पन्चेबाजा बजाइन्थ्यो । भोज खुवाइन्थ्यो । एक किसिमको उत्सव नै हुन्थ्यो । त्यसमाथि असारे गीत गाउँदा त झन् रमाइलो थपिन्थ्यो । यसलाई ठूलो रोपाइँ पनि भनिन्थ्यो । दिउँसोको खाजा खेतको मालिकले खेतालाहरूलाई खुवाउने चलन थियो । खेतमा गरिने भोज नै हो यो । लहरै बसेर खाजा खाँदाको दृश्य साह्रै रमाइलो हुन्थ्यो । सहनाइ र झ्याली बाजामा असारे गीत गाएको हेर्न बाहिरी मानिसहरू पनि झुम्मिन्थे । धान स्याहार्ने समयमा पनि बेठी लगाउने चलन थियो ।
पहिले पहिले छोराका लागि कन्या माग्न जाँदा कन्याका बाबुआमाका तर्फबाट धान खेत कति छ भनी सोध्ने चलन थियो । छोरीका लागि वरको घर हेर्न जाँदा पनि परालको कुनिउँ कत्रो रहेछ भनेर हेरिन्थ्यो । धेरै किसानका हातमा धान खेत कम थिए । भए पनि सिँचाइको सुविधा नभएका वर्षे झरीको भल छोपेर रोपाइँ गर्नुपर्ने टारीखेत मात्र हुन्थे । यस्ता खेतमा धान उत्पादन गर्न धेरै परिश्रम गर्नुपथ्र्यो तैपनि चामलको महŒवले किसानहरू असार महिनाभरि रोपाइँमा रमाउँथे । असार महिनामा आकाशे पानी नपरेमा साउनसम्म पर्खेर रोपाइँ गर्ने गर्दथे किनकी धान रोपाइँमा समाजिक इज्जत र प्रतिष्ठा थियो ।
समाजमा लैङ्गिक विभेद विद्यमान थियो । यो विभेद दैनिक व्यवहार र खानपानमा पनि लागू हुन्थ्यो । धान उत्पादनमा महिलाको धेरै पसिना बग्थ्यो तर चामल घरका पुरुष सदस्य र पाहुनाहरूका लागि मात्र पकाइन्थ्यो । उनीहरूले चामलको भात खान चाडपर्व नै पर्खनु पथ्र्याे । आजभोलि जस्तो यातायातको सुविधा थिएन । चामल किन्नका लागि दुईदेखि चार दिन लगाएर तराई–मधेसमा गएर मानिसले बोकेर पहाडी जिल्लाका दुर्गम स्थानहरूमा पु¥याउनु पथ्र्याे । यस्तै कारणले होला, नेपाली समाजमा धान उत्पादनलाई विशेष महŒवका साथ हेरिएको । त्यसमाथि नेपालको प्रमुख खाद्यान्न बाली पनि यो हुँदै हो । त्यसैले असारको पन्ध्रलाई धान दिवस वा किसान दिवस भनेर मनाइँदै पनि आएको छ । नेपालको भौगोलिक बनावट, हावापानी र यहाँको मौसमअनुसार असार महिनालाई वर्षे धान रोपाइँका लागि उत्तम मानिन्छ ।

कृषिबाट टाढिँदै
केही दशक यताको परिस्थिति भने अलि परिवर्तन हुँदै आएको देखिन्छ । कृषि मन्त्रालयको तथ्याङ्कलाई हेर्ने हो भने करिब ६५ प्रतिशत जनता कृषिमा संलग्न छन् । त्यसमा पनि महिलाको सङ्ख्या ८५ प्रतिशतभन्दा बढी नै देखिन्छ । तर व्यवहारमा हेर्ने हो भने नयाँ पुस्ताका युवा कृषि पेसाबाट टाढिँदै गएका छन् । उपजको बजार भाउ नपाउनु, सिँचाइको सुविधा नहुनु, बन्द, हड्ताल र महामारीका कारण उत्पादित कृषि उपज उपभोक्तासम्म पु¥याउन नपाउनुजस्ता कारणले कृषिमा लागेका युवा पनि सन्तुष्ट हुन सकेका छैनन् । आफ्नो देशमा रोजगारीको अवसर नभएर होला वैदेशिक रोजगारीमा जाने युवाको लर्को बढेको बढ्यै छ । बढ्दै गएको सहरीकरण र वैदेशिक रोजगारीको चलनले पछिल्लो पुस्ताका युवा कृषि पेसामा लागेको देखिँदैन । वैदेशिक रोजगारीमा कमाएको धनले तराईमा र सहरमा घर–घडेरी किन्ने प्रचलन बढ्दो छ । सहरका घरहरूमा कौसी खेती गरेर सामाजिक सञ्जालमा तस्बिर राख्न रमाउने समुदायको वृद्धि भएको छ । पहाडका धेरै जग्गाजमिन छाडेर अन्यत्र बसाइँ सर्नेको लहर पनि कम छैन । यसबाट पहाडी क्षेत्रका सुविधा भएका गाउँघरहरू पनि रित्तिँदै गएका छन् । घरहरू भत्किने अवस्थामा पुगेका छन् भने खरबारीमा काँडा, खेतबारीमा वनमारा मौलाएको देख्न पाइन्छ । पहाडका कृषियोग्य जमिन बाँझिदै गएका छन् भने सहरी क्षेत्र र तराईका उर्वर भूमिलाई खण्डीकरण गरेर बेच्ने कामले व्यापकता पाएको छ । सहरीकरणका कारण वनजङ्गल फडानी, काठ चोरीका घटनाले तराईको जैविक विविधतामा ह्रास आएको छ । चुरे विनाशले त झन् तराईका पानीका मुहान नै सुकेका छन् । मनसुनको खहरेले खेतीयोग्य जमिन कटान गर्नेक्रम बढ्दो छ । अन्नको भण्डार भनिने तराईका फाँटहरू पनि लगानी धेरै उत्पादन कम हुने र विदेशबाट आयातीत खाद्यान्न किन्दा सस्तो पर्ने हँुदा कृषि पेसालाई नयाँ पुस्ताका किसानले नरुचाएको देखिन्छ । सिँचाइको सुविधा नभएका जिल्लामा वर्षायाममा पनि धेरैजसो धान खेत बाँझो देखिन्छ ।
नयाँ पुस्ताको कृषि क्रियाकलापहरूमा मात्र होइन, खाद्य निर्भरतामा पनि ठूलो परिवर्तन आएको छ । मकै, गहुँ, जौ, कोदो, फापरभन्दा चामलको भात, मःमः, पिजा, चाउमिन, चाउचाउ र पाउरोटीजस्ता तयारी खानालाई धेरै प्रयोग गर्छन् । कतिपयलाई त धान, गहँु, जौ, कोदो र फापरको बोट छुट्टयाउन पनि मुस्किल पर्छ । आफ्नो देशमा पाइने खाद्य उत्पादन, औषधिजन्य बोटविरुवा तथा जडीबुटीको पनि महŒव नबुझ्ने अवस्था सिर्जना हँुँदैछ । कम्प्युटर, मोबाइल र टिभीजस्ता साधनमा नै व्यस्तता बढेको छ । यसबाट समाजमा सकरात्मकभन्दा नकारात्मक प्रवृत्ति मौलाएको देख्न र सुन्न थालिएको छ । महँगा कपडा, गरगहनाको प्रयोग र पार्टी, पिकनिक, भोजभतेरा ज्यादा रुचि जाग्न थालेको देखिन्छ । असारको महिना खेतमा देखिने भीडभाड आजभोलि रेष्टुरेन्ट, पार्टी प्यालेसतिर लम्किएको देखिन्छ । यो सुखद पक्ष भने होइन ।
मध्यपुस्ताका किसानहरू भने सकी नसकी आ–आफ्नो परम्परालाई धान्दै खेतबारी बाँझो नराख्न जुटिरहेका छन् । अहिले नेपालका मधेस, भित्री मधेस, उपत्यकाहरू र केही पहाडी क्षेत्रमा असारको महिनामा जुन रोपाइँको रौनक देखिन्छ, त्यो मध्यपुस्ताका किसानहरूको सक्रियताले मात्र सम्भव भएको हो । तर उनीहरू पनि आफ्ना सन्तानलाई भने कृषिमा भन्दा अन्य क्षेत्रमा स्थापित हुनका लागि पे्ररित गरिरहेका छन् । जोश, जाँगर र क्षमता भएका ऊर्जावान पुस्ताले अर्काको देशमा पसिना र रगत बगाउने, वृद्धवृद्धा र बालबालिकाहरू मात्र देशमा हुने वातावरणमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक छ । कृषि प्रधान देशमा यस्तो अवस्थामा सुधार ल्याइएन भने कृषि उपजमा समेत परनिर्भरता बढ्नेछ । राज्यले सधैँभरि व्यापार घाटा व्यहोर्नपर्ने हुन्छ । यसरी समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न कठिन हुन्छ । नेपाल जलस्रोतमा धनी देशमा हो । यहाँका धेरैजसो ठाउँमा वर्षमा तीन पटक खेती गर्न सकिन्छ । प्राकृतिक स्रोत र साधनमा, जैविक विविधतामा, मानव संसाधनमा तथा परम्परागत ज्ञान र सीपमा पनि नेपाल धनी राष्ट्र हो । यसलाई बेलैमा चिनेर संरक्षण गर्नु नै कल्याणको मार्ग हो ।

छुटाउनुभयो कि?

सबै