• ०२ माघ, बुधबार
  • , Jan 15, Wednesday

अप्ठ्यारोमा असाधारण अवसर !

  • २०७८ असार ११ शुक्रबार
  • Yugbani

कोरोनाले कसरी संसारभरका मान्छेको जीवनशैली परिवर्तन होला (?) भन्ने प्रश्नको जवाफका लागि पहिला गएको शताब्दीले मानिस र तिनका गतिविधिमा विश्वव्यापीकरण (ग्लोबलाइजेसन)ले कसरी जोड्छ भन्ने बुझ्नु आवश्यक हुन्छ।

 

ग्लोबलाइजेसन र परिवर्तनका परिदृश्य
कुनै क्षेत्र वा विश्वका मानवबीच आवतजावत र तिनका संस्कृति, वस्तु, सेवा, पुँजी र प्रविधिबीच अन्तरक्रिया तथा आदान–प्रदान गर्ने अभ्यास विश्वव्यापीकरण हो। जहाँ व्यावसायिक वा अन्य संगठनले अन्तर्राष्ट्रिय स्तरमा प्रभाव, विकास र उत्पादनको वितरण र प्रवद्र्धन गर्दछन्।विषेश गरेर दोस्रो विश्वयुद्धपछि विश्वका ठूला र शक्तिशाली देश, त्यहाँको भाषा, भेषभूषा र शिक्षाले अन्य भूभाग र त्यहाँका मानिसलाई सधैं प्रभाव पारेका इतिहास छन्। आजसम्म यिनले संसारलाई आर्थिक, सामरिक तथा व्यापारिक प्रभावमा राखेका छन्।
उदाहरणका लागि वित्तीय बजारको आधुनिक विश्वव्यापी एकीकरणमा सहजीकरणका रूपमा भनौं वा नामको रूपमा सन् १९४४ मा खडा गरिएका विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषजस्ता वित्तीय संस्थाको स्थापनालाई लिन सकिन्छ। मानिसबीच आवतजावतसँगै विचारको साझेदारी, संस्कृति र व्यक्तिका बीच मिश्रण भएका छन्। व्यापारको आदानप्रदान एक वा अर्को रूपमा हुनेगरेका छन्। आज हामीसामु अकल्पनीय प्रविधि र पुँजीको विकास भएको छ। सानादेखि ठूल्ठूला मल्टिनेसनल कम्पनी वा संघसंस्था एउटै नाममा अनेकन देशमा विकास, प्रवद्र्धन, उत्पादन तथा तिनको वितरण गर्दछन्।

उदाहरणका लागि अमेरिकी आईफोनको प्रोसेसर कोरियाको स्याम्सङ र ताइवानको टीसीएमसीका फ्याक्ट्रीमा बनेका छन्। त्यस्तै ‘टच स्क्रिन कन्ट्रोल’ चाइना, इन्डिया, कोरिया र युरोपियन देशहरूमा बन्ने गरेका छन्। विश्वव्यापारमा एकरूपता ल्याउन विश्वभर प्रतिस्पर्धात्मक मूल्यका आधारमा बजारको मापदण्ड निर्धारण गरेर बनेको आजको उपभोक्तावादी विश्व, भूमण्डलीकरणको माखेसाङ्लोमा जकडिएको छ। यही समयमा कोरोना महामारीले मेरुदण्डमा हानेर प्यारालाइज्ड बनाएको छ। अझ साधारण भाषामा भन्ने हो भने दैनिक जीवनका काम–रोजगार, किनमेल–व्यावसाय, उपभोग–चालचलन आदि क्रियाकलाप यसमै भर पर्नुपर्ने एउटै मेकानिज्ममा अडेर वर्तमान विश्व बनेको बेला कोभिड–१९ को महामारीको डढेलोले विश्व दन्किरहेछ। यो एउटा सप्लाई चेनको साइकलको एक ठाउँमा ब्रेक हुँदा दर्जनभन्दा बढी देशका कामदारको जीवनयापनमा आर्थिक अनि मानसिक भार हुने गरेको छ। यसले पूरा समाज अस्तव्यस्त हुन्छ। बेरोजगारी दरको ग्राफ उकालो लाग्दै विश्व समाज अस्तव्यस्त बनेको छ।

विश्वव्यापारमा एटमबमझैं कोरोना
विश्वव्यापीकरण नै कोरोना महामारीको कारण बनेको छ। विश्वव्यापीकरणकै कारण आज महामारीले विश्वलाई असर गरेको छ। संक्रमित मानिस तथा माध्यम जहाँ–जहाँ पुगे, कोरोना पनि त्यहीँ त्यहीँ पुग्यो।पृथ्वीको एककुनाको बाह्य परिघटनाले कसरी अर्को कुनामा उथल–पुथल पार्छ; पर्यटन र ट्राभल, खानपानका बानीबेहोरा, पार्टी–कल्चर, भ्रमण अनि पेशागत व्यवसाय आदि कसरी मारमा परिसकेका छन् भनेर हेर्न आफ्नै गाउँघर हेरे कहालीलाग्दो दृश्य अगाडि आउँछ

विश्वमहामारीले सर्वसाधारणका किनमेलका व्यवहारमा धेरै परिवर्तनका संकेत र सूचांक देखाइसकेको छ। यसले अर्थशास्त्रको माग र पूर्तिको साइकलमा गहिरो प्रभाव पार्दैछ। संसारभरका मानिसको क्रय शक्ति घटेको छ। विलासी जीवनशैली साधारण जीवनयापनमा झरेको छ। सादा जीवन जिउनेहरू केही संघर्ष गर्नुपर्छ भन्न थालेका छन्। गरिबीमा महामारीले भन्दा भोक र अनिकालले चुनौती र संकट थपेको छ। कोभिडको आगो अझै सल्किरहेको छ। जे–जे अवस्थाहरू हिजो असामान्य थिए, आज ‘एक्स्ट्रा न्यू नर्मल’ भएका छन्। जस्तोसुकै पिछडिएको समुदायमा पनि साबुनपानीले हात धुनुपर्छ भन्ने ‘न्यू नर्मल’ अब सामान्य भइसकेको छ। हिजो हस्पिटलमा मात्र प्रायः प्रयोग हुने शब्द ‘स्यानिटाइज’ अब घर घरभित्र पुगेको छ। स्वास्थ्य चेतनामा गुणात्मक विकास भएको छ। मास्क मान्छेको दैनिक जीवनमा नियमित हुनेछ या भएको छ।

विशेष गरेर अल्पविकसित र विकसोन्मुख देशमा यो आवश्यक थियो। अर्कोतर्फ भने ‘लकडाउन’ ले सिर्जना गरेको अभावलाई स्थानीय उत्पादनमा बढावा दिनुपर्छ भन्ने चेतनाको विकास भएको छ। यसले निर्माण गरेको बाध्यात्मक चेतनाको विकासले समयान्तरमा धेरैभन्दा धेरै स्थानीय उद्योगको विकास, स्थानीय उत्पादन र त्यसको वितरणमा ठूलो प्रभाव अवश्यनै देखिने छ। यो अवश्यभावी छ यसकारण कि भूमण्डलीकरणले हाम्रोजस्ता साना देशका वस्तु तथा सेवा ठूल्ठूला मल्टिनेसनल कम्पनीका उत्पादनले कि त मारमा थिए कित प्रतिस्पर्धात्मक बन्न नसकेर बेनाम थिए। आज त्यसले नयाँ अवसरको ढोका खोलेको छ। साढेसात अर्ब मानिस यस धर्तीमा टक्क अडिएका छन्। मानिलिउँ यत्तिबेला समय रोकिएको छ। या त मानिस स्व–नजबन्दमा बसेका छन्। अनि अर्थतन्त्रको मुटुको धड्कन सुस्त हुदै जाँदैछ।

विश्वको ‘मरिच अर्थतन्त्र’
अन्तरदेशीय र अन्तरमहादेशीय व्यापार संकुचन हुँदै धेरै सानो स्केलमा मात्रा धानिरहेकाले सम्पूर्ण विश्वको अर्थतन्त्रको आकार मरिचजस्तो भएको छ। सबै देशले त्यहीँबाट राहत तथा अन्य इमर्जेन्सी कामकाज चलाउनु परेको छ। केही विकसित देशले ‘कोरिडोर ट्राभल’को मोडल अघि सारेका छन्। जसमा एक निश्चित ठाउँकालागि मात्र अनुमति प्रदान गर्ने र नियमित सुपर्भिजन गर्ने भन्ने बुझिन्छ। न्युजिल्याण्ड र अष्ट्रेलियाले यो विकल्पलाई अहिले अनुसन्धान र प्रयोग गरिरहेको छन्। यस्तै अलग प्रकारले एसियालगायत युरोप, अमेरिकामा पनि निश्चित देश र अत्यावश्यकीय हवाईयात्रुको चापअनुसार ट्राभलको अर्को प्रयोग गरिरहेका छन्।

यी सुरुआती उदाहरणका झिल्का मात्र हुन्। पूरा उज्यालो धेरै टाढा छ। त्यहाँसम्म पुग्न असम्भव छैन तर धेरै अप्ठ्यारो छ। त्यो अप्ठ्यारो भनेकै भ्याक्सिनले आत्मरक्षा प्रणालीमा देखाउने प्रभावकारितामा भरपर्छ। तेसो भए यो डर कहिलेसम्म त भन्ने प्रश्न अगाडि छ। ती सबै वैज्ञानिक अनुसन्धान र प्रयोग मानव आफैंमा प्रयोगको सिलसिलामा मात्र छन्। यसले के संकेत गर्दछ भने मानिसले स्थानीय गन्तव्य छनोट गर्नेछन्। यसले वातावरणीय चेतना र स्थानीय स्वरोजगारीमा वृद्धिको अवसर सिर्जना हुन्छ। यही दृष्टान्तले भन्छ–हाम्रा पर्यटन तथा उड्डयन उद्योग कसरी ध्वस्त भए, कोरोना भाइरसले सर्वसाधारणमा विशेष गरेर बाह्य घटनाले हाम्रो जीवनशैली र स्थानीय रोजगार, पेशा र व्यवसाय कसरी रातारात परिवर्तन भए भन्ने छर्लंग देखाएको छ। अब हुने ‘न्यू नर्मल’ले समाजमा अर्को प्रारूपको सिर्जना गर्नेछ।

जागिरका लागि अफिस जानु धेरै मानिसका लागि पैसा मात्र नभएर लाइफ स्टाइल हो। जहाँ जीवनको महŒवपूर्ण बौद्धिक पक्ष, सामाजिक पक्ष, व्यावसायिक पक्ष र व्यक्तिगतपक्ष लगायतका तिनका सर्कलहरू जोडिएका हुन्छन्। काम गर्ने अफिस मानिसका लागि जीवनकै ठूलो हिस्सा हो, जहाँबाट जीवनको अविछिन्न सिकाइ प्रक्रिया चलिरहन्छ। धेरै कार्यालयीय कामकाज घरको अफिसबाट चलेका छन्।कार्यालयको बौद्धिक अन्तरक्रिया जुम, माइक्रोसफ्ट टिम्स, स्काइप र म्यासेन्जरमार्फत हुनेछन्। मेरो विचारमा पेशागत प्रक्रियामा हुने ‘इमोसनल रिलेसन’ को अनुपस्थितिमा ‘सेन्स अफ अर्जेन्सी’ र ‘पर्फर्मेन्स डेलिभरी’मा ह्रास आउनेछ।

सहरमा डर कायमै
ठूला सहरमा धेरै पछिसम्म रेल, बस, ट्याक्सीमा यात्रा गर्न डर कायम नै रहन्छ। त्यसैले सहरहरू मानव समाजका लागि क्रिटिकल नै रहनेछन् तर परिवर्तन हुनु आवश्यक हुनेछ। भ्याक्सिनले इम्युन प्रणालीमा देखाउने पूर्ण प्रभावकारितामा नहुन्जेलसम्म रोगको डर कायम नै भएमा विश्वका सहरले समायोजन गर्ने उपायहरू फेला पार्नुपर्ने हुन्छ। पहिलाको जस्तो भीड, कोलाहलसहितको सहर हुने छैनन्। नयाँ उपायहरू एड्जस्ट गर्दा सहरका नयाँ स्वरूप जन्मिनेछन्।

नयाँ आइडिया र मोडल प्रयोगमा आउँदा नयाँ अवसरले गुणात्मक फड्को मार्नेछन्। इतिहासमा पहिले पनि धेरै सहरले ठूलाठूला महामारी सामना गरिसकेका छन्। यद्यपि तिनीहरू अझ घनिभूत रूपमा सघन हुँदै गए किन कि नयाँ प्रयोग र नयाँ विचार जन्मँदै गए। अकल्पनीय प्रविधिको विकास हुँदै गयो। कोभिड–१९ पछि सहरीजीवनको संकुचन संयोगको रूपमा अस्थायी हुनेछ भन्ने धेरै मान्छेले आँकलन गरेका छन्। तथापि सहर–बजार परिवर्तन भइसकेका छन्। यो डर र त्रास अन्त्य हुँदासम्म धेरै साना बिजिनेस, रेष्टुरेन्ट, क्याफे बन्द भइसकेका हुनेछन्।
महामारीले के पनि देखाउँछ भने आवश्यक कामदार सहरमा निर्भर छन्। ती सहर सार्वजनिक यातायात रेल र बसमा निर्भर छन्। सहरका अस्पताल, किराना स्टोर, र आपूर्ति शृंखला आदि तिनै आवश्यक कामदारमा निर्भर छन्। अहिलेको हाम्रो चुनौती भनेको सहरहरू रहनेछन् कि छैनन्भन्दा पनि हामीसँग सहर, तिनका गल्ली, गल्लीमा भएका साना ठूला–पेशा र व्यवसायको सुरक्षितरूपान्तरण गर्ने परिकल्पना र भिजनको सामथ्र्य छ कि छैन भन्ने प्रश्न हो। त्योभन्दा महत्वपूर्ण कुरा हामी सुरक्षित रहन्छौं कि रहन्नौं भन्ने सवाल हो। समाजलाई बुझ्ने र पुराना बकाइनाका रुख फालेर नयाँ विरुवा रोपेर नयाँ पुस्ताले नेतृत्व गर्न सक्छन् कि सक्दैन भन्ने कुरामा हाम्रो भविष्य अडेको छ।

छुटाउनुभयो कि?

सबै