उदयपुर : अवैध हतियारसहित जनता समाजवादी पार्टी (जसपा) उदयपुरका एक नेतालाई प्रहरीले बुधबार राति पक्राउ गरेको छ । प्रहरीका अनुसार अवैध पेस्तोलसहित जसपाका जिल्ला सदस्य पर्शुराम चौधरी पक्राउ परेका हुन् । पक्राउ परेको चौधरीलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
गोप्य सूचनाका आधारमा जिप्रकाबाट खटिएको प्रहरीको विशेष टोलीले उनलाई ९ एमएममा लाग्ने ५ थान गोली र चन्दाका रसिदसहित पक्राउ गरिएको एसपी भिमबहादुर दाहालले बताए । सशस्त्र द्वन्द्वकालदेखि नै हतियार राखी चन्दा आतंक मच्चाउँदै आएको भन्ने सूचनाका आधारमा उनलाई अनुसन्धानका क्रममा कान्छी श्रीमती श्यामकुमारी चौधरीको घरबाट पक्राउ गरिएको उनले बताए ।
प्रहरीले उनको पेस्तोल, गोली, अखिल नेपाल टे«ड युनियन महासंघ लेखिएको ८ ठेली सहयोग रसिद, नेकपा माओवादी केन्द्र लेखिएको तीन थान सदस्यता र अखिल नेपाल निर्माण मजदुर संघ लेखिएको ८५ थान सदस्यता पत्र बरामद गरेको जनाएको छ ।
एसपी दाहालका अनुसार कान्छी श्रीमतीको छोरी र सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका ८ का २३ वर्षीय बवि चौधरी बिचको प्रेम सम्बन्ध बुवा चौधरीले मन पराएका थिएनन् । त्यहीँ सम्बन्ध तोड्न उनले छोरीको केटा साथीलाई फसाउने योजना अनुरुप बवि आएको मौका छोपी कान्छी श्रीमतीको घरमा पेस्तोल राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी दाहालले बताए ।
उनले भने, ‘पर्शुरामले छोरी र केटाबिचको सम्बन्ध टुटाउन निकै प्रयास गरेको देखिन्छ, त्यति गर्दा समेत नभएपछि बवि आएको मौका छोपी कान्छी श्रीमतीको घरमा गई झोलामा पेस्तोल राखेर प्रहरी बोलाएर फसाउने नियत गरेको देखिन्छ ।’
अनुसन्धानका लागि बविसहित चौधरीका कान्छी श्रीमती र छोरीलाईसमेत जिल्ला प्रहरी कार्यालय बोलाइएको छ । यसअघि चौधरी माओवादी द्वन्द्वकालमा माओवादीको लडाकु र त्यसपछि पार्टीको जिल्ला कमिटी सदस्य तथा भ्रातृ संगठन मजदुर संघको जिल्ला संयोजक रहेको खुलेको छ । उनी २०७७ माघ ४ गते जसपामा प्रवेश गरी सोही पार्टीको जिल्ला सदस्य रहेको खुलेको छ ।