प्रदेशसभामा बोल्ने विपक्षी दलका नेताहरुले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेको बताउँदै तत्काल राजीनामा दिएर मार्ग प्रसस्त गर्न दबाब दिए । बहुमतका लागि ४१ जना सांसदसहति दाबी गर्नु पर्नेमा पोखरेलले एक जनाको किर्ते हस्ताक्षर गरी सरकारको दाबी गरेकाले सरकारले वैधानिकता गुमाएको उनीहरुको दाबी थियो ।
कांग्रेस प्रमुख सचेतक फकरुद्धिन खानले संविधानको धारा १६८ उपधारा १ बमोजिम मुख्यमन्त्रीमा पोखरेल नियुक्त भएपनि अहिले उपधारा २ बमोजिम दुई दलको सरकार बनेकाले सोही अनुसार वर्तमान सरकारले गठन भएको एकमहिनाभित्र विश्वासको मत लिन माग गरे । ‘कि सरकारले विश्वासको मत लिनुपर्यो कि छोड्नुपर्यो,’उनले भने ।
माओवादी केन्द्रका सदस्य सुदर्शन बरालले अवैधानिक रुपमा मुख्यमन्त्री बनेका पोखरेलले राजीनामा दिनुबाहेक अरु विकल्प नरहेको बताए । सपथ खुवाउँदा पनि प्रदेश प्रमुखलाई बोरामा राखेर आफ्नो कार्यकक्षमा ल्याएका मुख्यमन्त्रीले नीति कार्यक्रम ल्याउने र सरकार चलाउने हैसियत नराख्ने उनको भनाइ थियो ।
प्रदेश सभाको बैठकमा जनता समाजवादी पार्टी संसदीय दलका नेता सहजराम यादवले सत्ता लिप्त एमालेले आफ्नो दलसमेत फुटाएर लगेको बताए । प्रदेशमा जसपाका ६ मध्ये ४ सदस्य अहिले सरकारमा सहभागी छन् ।
प्रदेशसभामा कांग्रेसका वीरबहादुर राना, माओवादी केन्द्रका इन्द्रजीत थारु, राजमोका तारा जिसी लगायतले बोल्दै सरकारको आलोचना गरेका थिए । वैधानिकता गुमाएको सरकारले संसद् छलेर अध्यादेशबाट बजेट ल्याएमा त्यसको प्रतिकार गर्ने समेत बताएका थिए ।