काठमाण्डाै - मौसममा सुधार आएसँगै आज सगरमाथा आरोहण भएको छ । यास चक्रवातको प्रभावले मौसम प्रतिकूल बन्दा अघिल्लो सोमवारदेखि आरोहण रोकिएको थियो । आज बिहान आरोहीहरु शिखरमा पुगेका कीर्तिमानी आरोही मिङ्मा डेभिड शेर्पाले जानकारी दिनुभयो ।
आरोही निर्मल पुर्जासहित आफूहरुको १५ सदस्यीय टोली बिहान शिखरमा पुगेको शेर्पाले जानकारी दिनुभयो । यस्तै अरु समूहका आरोहीहरु पनि शिखरमा पुगेका उहाँले बताउनुभयो । आफूहरु सगरमाथाको सफल आरोहणपछि ल्होत्से हिमाल आरोहणको तयारीमा लागेको उहाँले बताउनुभयो ।
ल्होत्से हिमाल आरोहण पनि सगरमाथाको चौथो शिविरबाट नै गरिन्छ । यस वर्ष गएको वैशाख २४ गते शिखरसम्मको बाटो बनाएपछि यस वर्षको वसन्त ऋतुको आरोहण सुरु भएको हो । वैशाख २८ र २९ गते गरी झण्डै एक सय ७० जना आरोही सगरमाथा शिखरमा पुगेका थिए ।
त्यसपछि मौसम खराब भएर रोकिएको जेठ नौ गते एकैदिन डेढ सय बढी आरोही शिखरमा पुगेका थिए । १० गते पनि केही आरोहण भएकोमा त्यसपछि पूरै रोकिएको थियो । आज बिहान फेरि आरोहण भएको हो । यो वर्ष सगरमाथा आरोहणका लागि चार सय आठ जनाले अनुमति लिएका छन् ।