• १६ चैत, शुक्रबार
  • , Mar 29, Friday

यादवद्वारा ठाकुरसहित चार जना नेता हटाइँदै, यादवलाई कारबाही गर्ने ठाकुर पक्षको तयारी

  • २०७८ जेठ १६ आइतबार
  • Yugbani

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) का दुवै खेमाले पुनः चौबीस घण्टे पत्र काटेर एक/अर्कालाई पार्टीबाट निष्कासन गर्ने प्रक्रिया अघि बढाएका छन् । अध्यक्ष महन्थ ठाकुरसहित चार नेताले तीन दिनभित्र स्पष्टीकरणको जवाफ नदिएपछि अर्का अध्यक्ष उपेन्द्र यादवले जवाफका लागि शनिबार पुनः २४ घण्टाको पत्र काटेका छन् ।

यादवको पत्र सार्वजनिक भएलगत्तै अर्का अध्यक्ष ठाकुरले पनि अध्यक्ष यादवलाई उस्तै व्यहोराको २४ घण्टे पत्र पठाएका छन् । दुवै पत्रमा एकले अर्कालाई पार्टीबाट निष्कासन गर्ने व्यहोरा उल्लेख गरिएको छ ।

यादवले जेठ ८ गतेको केन्द्रीय कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार भन्दै ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई जेठ ११ गते तीन दिनभित्र जवाफ दिन भन्दै स्पष्टीकरणको पत्र पठाएका थिए । त्यसै दिन ठाकुरले पनि अध्यक्ष यादवलाई तीन दिनभित्र स्पष्टीकरणको जवाफ दिन भन्दै पत्र काटेका थिए । दुवै पक्षले एकले अर्कोलाई पार्टी नीति र निर्णयविपरीत गतिविधि गरेको आरोप लगाएका छन् । यादवले केन्द्रीय कार्यकारिणी समितिको बहुमतको आधारमा कारबाही अघि बढाएका हुन् भने अध्यक्ष ठाकुरले पहिले अध्यक्षको आधारमा पत्र काटेका छन् ।

पार्टीको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा यादव पक्षको बहुमत छ । विघटित प्रतिनिधिसभाको संसदीय दलमा ठाकुर पक्षको बहुमत थियो । ठाकुरले पहिलो अध्यक्षको अनुपस्थितिमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले वैधता नपाउने भन्दै स्पष्टीकरणको जवाफ नदिने बताएको छ । यादवले पनि विधि, विधान र प्रक्रियाविपरीत प्रस्न सोधिएको भन्दै जवाफ नदिने जनाएका छन । २४ घण्टा सकिएपछि अर्थात् आइतबार दुवै पक्षले एकअर्कालाई पार्टीबाट निष्कासन गरेको पत्र सार्वजनिक गर्ने सम्भावना रहेको दुवै पक्षका नेताहरू बताउँछन् । यसले पार्टी विभाजन हुने र आधिकारिताको विषय निर्वाचन आयोगतिर सोझिने सम्भावना देखिएको छ ।

तत्कालीन राजपा र समाजवादी पार्टीबीच ०७७ वैशाखमा एकीकरण भई जनता समाजवादी पार्टी बनेको थियो । एकीकरण प्रक्रिया टुंगो नलाग्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा जाने कि विपक्षीमा भन्ने अन्तरकलहले पार्टी विभाजनको मोडमा पुगेको हो । अध्यक्ष ठाकुरसहितको पूर्वराजपा धार प्रधानमन्त्री ओलीतिर र अर्का अध्यक्ष यादवसहित पूर्वसमाजवादी धार ओलीविरुद्धको गठबन्धनमा लागेको छ । यही विषयले कलह बढाउँदै जाँदा दुवै पक्ष एकले अर्कालाई निष्कासन गर्नेतिर लागेका हुन । ठाकुर पक्षीय नेता लक्ष्मणलाल कर्णले जसपामा तत्कालीन नेकपाकै भूत चढेको बताए ।

 

‘अब पार्टी सामान्य अवस्थामा छैन । द्वन्द्व बढेको छ । दुवै पक्ष बसेर छलफल गर्ने तहमा गएन भने पार्टी एक रहन्छ भन्न सकिने स्थिति छैन,’ कर्णले कान्तिपुरसँग भने, ‘तत्कालीन नेकपाभित्रको भूत प्रवेश भएकै कारण हामी यो अवस्थामा आइपुगेका छौं ।’ यादवनिकट नेता रामसायप्रसाद यादवले पार्टीको विधि, विधान र प्रक्रियाअनुसार स्पष्टीकरण सोधिएकाले त्यसलाई बेवास्ता गरी चित्तबुझ्दो जवाफ नआए पार्टीबाट निष्कासन हुन सक्ने बताए । २४ घण्टाभित्र स्पष्टीकरणको जवाफ नदिए केन्द्रीय कार्यसमितिको निर्णयअनुसार नै कारबाही प्रक्रिया अघि बढ्ने उनले बताए ।

छुटाउनुभयो कि?

सबै