• १७ मंसिर, शुक्रबार
  • , Dec 03, Friday

सामान्य अवस्था भए लाखौँ जनता सडकमा हुन्थे : कांग्रेस

  • २०७८ जेठ १२ बुधबार
  • Yugbani

काठमाडौं । नेपाली कांग्रेसले अवस्था सामान्य भएको भए अहिले लाखौँ नागरिक सडकमा उत्रिइसकेका हुने जनाएको छ । बुधबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

 बैठकपछि सहमहामन्त्री डा. प्रकाशरण महतले सरकारले असंवैधानिक बाटोबाट राज्यसत्ता कब्जा गर्ने र अधिनायक शासन चलाउने नियत राखेको भन्दै सामान्य अवस्था भएको भए लाखौँ जनता यति बेला सडकमा उत्रिइसकेका हुने बताए ।

 

“अहिले सामान्य अवस्था हुन्थ्यो भने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक हर्कतविरुद्ध लाखौँ जनता सडकमा उत्रिएका हुन्थे, हामी सबै आन्दोलनमार्फत जनमतअनुरुपको अवस्था निर्माण जुटिरहेका हुन्थ्यौँ,” महतले भने, “तर, जीवन नै जोखिममा परेको अवस्था छ । जनताको स्वास्थ्यमा खेलबाड नगर्न हामी सरकारको ध्यानाकर्षण गर्दछौँ ।” उनले राष्ट्रप्रमुख र सरकार प्रमुखका गैरजिम्मेवारी नागरिकप्रतिको बेवास्ताका उपज भएको बताए ।

कांग्रेसले सरकार प्रमुख र न्यायपालिका प्रमुखबीच भएको भनिएको भेटका विषयमा समेत आशंका व्यक्त गरेको छ । “यस्तो जटिल अवस्थामा प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच मध्यरातमा भेटवार्ता भएको भन्ने समाचार आएका छन्, यसले हामीलाई सशंकित बनाएको छ,” महतले भने ।

छुटाउनुभयो कि?

सबै