काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आचारसंहिता उलंघन गरेको भन्दै प्रधानमन्त्री केपी ओलीलाई कारवाही गर्न निर्वाचन आयोग समक्ष आग्रह गरेका छन् ।
ओली नेकपा (एमाले)को अध्यक्ष मात्र नभएर नेपाल सरकारको प्रधानमन्त्रीसमेत भएकाले मौन अवधिमा अमुक उम्मेदवारलाई विजयी गराउन मतदातालाई वक्तव्य निकालेर धम्की दिएको भन्दै प्रचण्डको सचिवालयले यस्तो आग्रह गरेको हो ।
प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले विज्ञप्ति सार्वजनिक गर्दै निर्वाचन आयोगसमक्ष प्रधानमन्त्रीलाई कारवाही गर्न अनुरोध गरेका हुन्। प्रधानमन्त्रीको वक्तव्यले आचारसंहितको गम्भीर उलंघन भएको ठहर विज्ञप्तिमा गरिएको छ ।
‘मौन अवधिमा सार्वजनिक वक्तव्य मार्फत अमूक उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्दै मतदातालाई दिएको धम्कीले आचारसंहिताको गम्भीर उलङ्घन भएको छ’, महराले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो स्थितिमा हुने निर्वाचन स्वच्छ र निष्पक्ष हुने कसरी अपेक्षा गर्न सकिन्छ ? प्रधानमन्त्रीको यस कार्यको निन्दा र भत्र्सना गर्दै आवश्यक कारवाहीका लागि निर्वाचन आयोग समक्ष आग्रह गर्दछु।’
विज्ञप्तिमा जेठ ३ गते राति १२ बजेदेखि मौन अवधि सुरु भएको विषयमा निर्वाचन आयोगले सचेत गराएकोसमेत उल्लेख गरिएको छ ।