• १५ चैत, बिहीबार
  • , Mar 28, Thursday

‘पहाडकी रानी’मा चहलपहल

  • २०७७ चैत १२ बिहीबार
  • Yugbani

कोभिड-१९ का कारण विश्व नै आक्रान्त बन्यो। मान्छेले मान्छेलाई देख्दा भाग्नुपर्‍यो। एक स्थानबाट अर्को स्थान जान रोक लगाइयो। 

व्यापार, कलकारखाना, उद्योगधन्दा, विद्यालय, यातायात लगायतका सबै ठप्प भए। यो कहालीलाग्दो समय पार गर्दै अहिले पुनः सबै क्षेत्रमा चहलपहल बढ्न थालेको छ।

‘पहाडकी रानी’ बन्दीपुरमा पछिल्लो समय आन्तरिक एवं बाह्य पाहुनाको चहलपहलमा वृद्धि हुँदै गएपछि होटल व्यवसायी खुसी भएका छन्। 

बन्दीपुरमा घुम्न आउने अधिकांश आन्तरिक पर्यटक हुने गरेको तनहुँ उद्योग वाणिज्य संघ, बन्दीपुर बजार एकाइका सभापति एवं होटल व्यवसायी बैश गुरूङले जानकारी दिए। 

दिनमा झण्डै छ-सात सयका हाराहारीमा घुम्न आउने गरे पनि बास बस्ने पर्यटक भने कम छन्। 

उनले भने, ‘होटलमा बास बस्नेको सङ्ख्या मुश्किलले डेढ/दुई सय हुने गरेको छ।’ 

आन्तरिक पर्यटकको भीडमा न्यून संख्यामा आठ/दश बाह्य पर्यटक देखिन थालेपछि व्यवसायी उत्साहित भएको उनले बताए। 

प्याराग्लाइडिङको रौनक 

पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको सो क्षेत्रमा एक पटक पुगेका पर्यटक पुनः दोहोर्‍याएर जाने गरेका छन्। बन्दीपुरको पाराग्लाइडिङ पर्यटकको रोजाइमा पर्न थालेपछि भीड बढ्न थालेको बन्दीपुर पर्यटन विकास  समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिए।

‘बन्दीपुरमा आन्तरिक  पर्यटक बढ्दै गएको र प्याराग्लाइडिङमा रमाउनेको संख्या पनि वृद्धि हुन थालेपछि व्यवसायी खुसी हुन थालेको छ’,उनले भने। 

साहसिक पर्यटकका लागि बन्दीपुरको थानीमाई डाँडाबाट प्याराग्लाइडिङ गरी बन्दीपुर–२ स्थित भूमर्सेमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ।  

पोखराको ब्लु स्काइ कम्पनीले पर्यटकलाई ल्याएर प्याराग्लाइडिङ गराउँदै आएको बताइएको छ।

दिनहुँ नभए पनि कुनैकुनै दिन २० देखि ५० जनासम्म पर्यटक ल्याएर प्याराग्लाडिङ गराउँदा बन्दीपुरमा छुट्टै रौनक थपिएको छ। ब्लु स्काइले पर्यटकलाई प्याकेज बनाएर उडाउने गरेको समितिले जनाएको छ। 

उक्त कम्पनीले तीन वर्ष अघिदेखि नै कम्पनी दर्ता गरी प्याराग्लाइडिङ थालेको समितिका अध्यक्ष प्रधानले बताए।
विगत वर्षमा चीन, अमेरिका, फ्रान्स, इटाली, जर्मनी लगायतका पर्यटक आउने गरेकामा कोरोना भाइरसको प्रभावले गर्दा आन्तरिक पर्यटक मात्रै आकाशमा रमाउने गरेका छन्। 

एक किसिमको हावा आइरहने भएकाले बन्दीपुर प्याराग्लाइडिङको लागि उपयुक्त स्थान मानिएको छ। बन्दीपुरको प्याराग्लाइडिङबाट हिमाल, हरियाली डाडाँकाँडा, सुन्दरबस्ती, टार, नदी, खोलाका साथै अन्य रमणीयस्थल देख्न सकिने भएकाले विदेशी पर्यटकको आकर्षणको केन्द्र बनेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए।  

प्याराग्लाइडिङको आकर्षण बढाउन थानीमाई जाने सडकको स्तरोन्नति गरिएको छ। 

उनले भने, ‘प्याराग्लाइडिङ स्थलसँगै मिनी ग्रेटवालका साथै साइकल लेन निर्माण सम्पन्न गरिएको छ।’ 

दमौलीको खेलमैदान दोहोरो चपेटामा 

तनहुँको सदरमुकाम दमौलीस्थित खुला मैदान दोहोरो चपेटामा परेको छ। व्यास नगरपालिकाले उद्यान र मञ्च निर्माण प्रक्रिया अघि बढाएको तथा सामाजिक सञ्जाल र स्कुल अफ डेमोक्रेसी नेपाल तनहुँले यथास्थितिमा राख्न माग गरेका छन्। 

पाँच वर्षअघिको सर्वदलीय बैठकबाट निर्णय भएकाले नगरबासीकै हितका लागि संरचना निर्माण गर्न लागिएको नगरपालिका कार्यालयले जनाएको छ। 

स्कुल अफ डेमोक्रेसीले मंगलबारमात्रै हस्ताक्षरसहित जिल्ला प्रशासन कार्यालय र व्यास नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए। 

खेल मैदान यथास्थितिमा राख्नुपर्ने अडानसहित प्रमुख जिल्ला अधिकारी सागर आचार्य र नगरप्रमुख बैकुण्ठ न्यौपानेलाई हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाइएको हो। 

स्कुल अफ डेमोक्रेसी तनहुँका अध्यक्ष डम्बर अधिकारीले खुला मैदान दमौलीको गहना भएको हुँदा यसलाई जोगाएर राख्नुपर्ने र  र संरचना बिगार्न नहुने बताए। 

भूकम्पलगायत प्रकोप, आकस्मिक हेलिकोप्टर अवतरण, ज्येष्ठ नागरिक तथा बालबालिकाका हिँडडुल  गर्नसमेत खुला मैदान आवश्यक पर्ने उनको भनाइ थियो। 

नगर प्रमुख न्यौपानेले विभिन्न सभासम्मेलन र कार्यक्रम आयोजना गर्दा अभाव भएको हुँदा मञ्च निर्माण गरिएको बताउँदै अन्य संरचना निर्माण गर्ने विषयमा नगरपालिका छलफलका लागि तयार रहेको जनाए। रासस

छुटाउनुभयो कि?

सबै